उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कानुन संशोधन गरेर भए पनि लगानीमैत्री वातावरण तयार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। बिहीबारदेखि भैरहवामा सुरु भएको नवौँ लुम्बिनी राष्ट्रिय महोत्सव २०८१ को समुद्घाटन समारोहमा बोल्दै उनले व्यवसायीहरूलाई निराश नहुन आग्रह गरे।
मन्त्री पौडेलले पछिल्लो समय देशको अर्थतन्त्र सुधारोन्मुख रहेको उल्लेख गर्दै सरकारले अर्थतन्त्रका सबै समस्या समाधान गरी यसलाई चलायमान बनाउने आश्वासन दिए। उनले निजी क्षेत्रको मनोबल बढाउनेतर्फ सरकार कटिबद्ध रहेको बताए।
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रको गौरव भएको बताउँदै उनले यसको प्रभावकारी सञ्चालनमा सरकारले विशेष ध्यान दिने बताए।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले महोत्सवले क्षेत्रको आर्थिक अवस्थामा सुधार ल्याउने विश्वास व्यक्त गरे। आगामी पुस १ गतेसम्म सञ्चालन हुने महोत्सवमा करिब १० करोड रुपैयाँको कारोबार हुने र २ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा आयोजकले गरेका छन्।