भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक निजी भ्रमणको क्रममा काठमाडौं आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई परराष्ट्रमन्त्री डा. आरजू राणा देउवाले स्वागत गरेकी थिइन्।
रानी तेत्सुन पेमा वाङचुकसहित केही समयअघि विमानस्थलमा ओर्लिएका राजा वाङचुक त्यहाँबाट सिधै स्वयम्भूनाथ पुगे। उनी सिनामंगल, तिनकुने, नयाँ बानेश्वर, माइतीघर, थापाथली, त्रिपुरेश्वर, टेकु, कालिमाटी, ताहाचल हुँदै स्वयम्भूनाथ गएका थिए।
स्वयम्भूनाथमा दर्शन र पूजापाठ सम्पन्न गरेपछि उनी बौद्धनाथ जाने कार्यक्रम छ। बौद्धनाथमा पनि पूजापाठ सकेर उनी पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फर्किने छन्। उनको तालिका अनुसार उनी करिब २ः४० बजे फिर्ता हुनेछन्।
भुटानी राजाको आगमनलाई मध्यनजर गर्दै काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्था कडा पारिएको छ। बुधबार नै नेपाली सेनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनको सुरक्षाका लागि पूर्वाभ्यास गरेको थियो।